खाद्यले सवा आठ करोडका खसीबोका खरिद गर्ने

फाइल तस्बिर

काठमाडौं– सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष पनि खसीबोका र च्यांग्रा ल्याउने भएको छ । खाद्यले हरेक वर्षको दशैंतिहारलाई लक्षित गरेर खसीबोका र च्यांग्रा ल्याउने गरेको छ ।

चाडपर्वमा व्यापारीहरुले उपभोक्ताबाट चर्को मूल्य असुल्ने सम्भावनालाई रोक्न खाद्यले बाहिरी जिल्लाबाट खसीबोका र च्यांग्रा खरिद गरी राजधानीमा ल्याउने गर्दै आएको थियो । कम्पनीले खसीबोका र च्यांग्रा खरिद गर्न ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याएको छ । यो बजेटमा २ हजार खसीबोका र १ हजार च्यांग्रा खरिद गर्ने तयारी गरेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । उनका अनुसार गत वर्षको दशैंका लागि खसीबोका र च्यांग्रा खरिद गर्न ६ करोड ५० लाख रुपैयाँ छुट्याइएको थियो ।

गत वर्षभन्दा कम्पनीले यस वर्षको दशैंका लागि खसीबोका र च्यांग्रा खरिद गर्न करिब दुई करोड रुपैयाँ बढी छुट्याएको छ । ८ करोड ३३ लाखमध्ये ३ करोड ४२ लाखका खसीबोका र ४ करोड ९१ लाखका च्यांग्रा ल्याउने कम्पनीले निर्णय गरेको छ । कम्पनीले गत वर्ष तुलसीपुर र वीरगन्जबाट एक हजार १९४ वटा खसीबोका किनेको थियो भने दार्चुलाबाट १६२ वटा च्यांग्रा खरिद गरेको थियो । दशैंमा जिउँदो खसी प्रतिकिलो ५ सय ७० रुपैयाँ, बोका ५ सय ५५ रुपैयाँ र च्यांग्रा प्रतिकिलो १ हजार २ सय ६० रुपैयाँले बिक्री गरेको थियो ।

यस वर्षका लागि कुन ठाउँबाट खसीबोका र च्यांग्रा खरिद गर्ने भन्ने निर्णय नभएको सूचना अधिकारी न्यौपानेले जानकारी दिइन् । चाडपर्वमा चिनी खरिदका लागि कम्पनीले ४० करोड रुपैयाँ छुट्याएको छ । ५ हजार टन चिनी खरिद गर्न यो बजेट छुट्याएको हो । टेन्डर आह्वान गरेर आयात गर्न समय नपुग्ने भएकाले कम्पनीले स्थानीय बजारबाट नै खरिद गर्ने योजना बनाएको छ ।

चिनीमा ५० प्रतिशत भन्सार छुट

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टेडिङ कर्पाेरेशनलाई चिनी आयात गर्न दिने निर्णय गरेको छ । चाडपर्वलाई लक्षित गर्दै २० हजार टन चिनी आयात गर्न दिने निर्णय सरकारले गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट टेडिङमार्फत चिनी आयात गर्न अर्थ मन्त्रालयसँग स्वीकृति माग्दै आएको थियो । तर, अर्थले साल्ट टेडिङलाई चिनी आयातको स्वीकृति दिएको थिएन । आपूर्ति मन्त्रालयले ६० हजार टन प्रस्ताव गरेकोमा अर्थले २० हजार टनको स्वीकृति दिएको हो ।

अर्थले स्वीकृत गरेको परिमाणमध्ये साल्ट ट्रेडिङले १० हजार र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार टन आयात गर्नेछन् । यो आयातमा दुवैले ५० प्रतिशत भन्सार महशुल छुट पाउनेछन् । चिनी आयात गर्दा भन्सार महसुल ३० प्रतिशत तिर्नुपर्छ  र त्यसमा १३ प्रतिशत भ्याट लाग्छ  । भन्सार महसुल छुट हुँदा निजी क्षेत्रले बिक्री गर्नेभन्दा सस्तो पर्छ ।

Comments

Popular posts from this blog