मन्त्रीको निर्देशनपछि भ्यान सञ्चालन प्रक्रिया अघि बढ्यो

कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले चार वर्षदेखि बेवारिसे बनाइएका मोबाइल भ्यान तत्काल सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएका छन् । करिब २८ करोड रुपैयाँमा खरिद गरिएका ४ वटा मोबाइल भ्यान खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग परिसरमा चार वर्षदेखि बेवारिसे अवस्थामा राखिएको छ ।

सरकारले खाद्य स्वच्छताका लागि बजार अनुगमन प्रभावकारी बनाउने उद्देश्यले मोबाइल भ्यान खरिद गरे पनि मुद्दामामिलाको बहाना बनाएर सञ्चालनमा आउन सकेका छैनन् । मन्त्री भुसालले विभागका पदाधिकारीलाई बेवारिसे बनाएर राखिएका भ्यान सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन् । हालै भएको विभागको कार्यप्रगति समीक्षाका क्रममा मन्त्रीले भ्यान सञ्चालन गर्न निर्देशन दिएको कृषि सचिव गोविन्दप्रसाद शर्माले जानकारी दिए । “भ्यान चलाउन केकति बाँकी प्रक्रिया पूरा गर्नु छ, त्यो तत्काल गरी सञ्चालनमा ल्याउने व्यवस्था गर्न मन्त्रीज्यूले निर्देशन दिनुभएको छ,” सचिव शर्माले भने ।

सरकारले खाद्य स्वच्छताका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने उद्देश्यले २८ करोड रुपैयाँ खर्चेर ४ वटा मोबाइल भ्यान खरिद गरेको थियो । सचिव शर्माले विभागलाई यसअघि पनि बाँकी प्रक्रिया पूरा गरी छिटो भ्यान सञ्चालनमा ल्याउन भन्दै आएको बताए ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले मोबाइल भ्यान सञ्चालन गर्न विभागले प्रक्रिया अगाडि बढाएको जानकारी दिए । उनका अनुसार भ्यान सञ्चालनका लागि आपूर्तिकर्ताले दिनुपर्ने तालिम बाँकी छ । प्रवक्ता महर्जनले भने, “भ्यान आपूर्तिकर्तालाई बाँकी तालिमको व्यवस्था गर्न पत्राचार गरिएको छ । तालिमपछि उसको १० प्रतिशत रकम पनि भुक्तानी गर्नुपर्छ ।” उनका अनुसार यी सबै काम पूरा भएपछि भ्यान सञ्चालनमा ल्याउने हो । अहिले प्रक्रिया अघि बढेको भए पनि सञ्चालनमा ल्याउन केही समय लाग्ने उनले बताए ।

लामो समयदेखि बाहिर खुला ठाउँमा भ्यान राखिएका छन् । यस्तोमा भ्यानका केही पार्टपुर्जा बिग्रिएका हुन सक्छन् । यस्तो भए मर्मत गरेर सञ्चालनमा ल्याउनुपर्ने हुँदा समय लाग्न सक्छ । प्रवक्ता महर्जनले भ्यान सञ्चालनका लागि विभागले कार्यविधि बनाउने काम अघि बढाएको जानकारी दिए ।

मोबाइल भ्यान आपूर्तिकर्ताका प्रतिनिधि प्रवीन कुँवरले विभागसँग भएको सम्झौताअनुसार नेपालमै दिन सकिने तालिम दिएको र देशबाहिर दिनुपर्ने तालिम बाँकी रहेको जानकारी दिए । विदेशमा दिनुपर्ने तालिमका लागि विभागलाई पटक–पटक तालिम लिने समय र प्राविधिकको नाम पठाउन पत्रचार गर्दा समेत विभागले कम्पनीलाई जानकारी नदिएको उनले बताए ।

भ्यान सञ्चालनका लागि विभागले तालिम लिने व्यक्ति र समय निर्धारण गरेको ४५ देखि ६० दिनभित्र बाँकी तालिम गराउन कम्पनी तयार रहेको उनको भनाइ छ । विभागसँग भएको सम्झौतामा ७ जनालाई तालिम उपलब्ध गराउने उल्लेख भए पनि अहिले ९ जना अधिकृतलाई तालिम गराउने भनिएको छ ।

सरकारले खाद्य स्वच्छताका लागि बजार अनुगमन प्रभावकारी बनाउन भन्दै २०७५ वैशाखमा चार वटा मोबाइल भ्यान खरिद गरेको थियो । प्रतिभ्यान करिब ७ करोडका दरले २८ करोडमा ४ भ्यान खरिद गरिएका थिए । विभागले २ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले २ गरी ४ वटा भ्यान खरिद गरेका थिए । भ्यान खरिद गरेको सुरुको एक वर्ष विभागले बजार अनुगमनका लागि प्रयोगसमेत गरेको थियो ।

भ्यान खरिदमा आपूर्तिकर्ता र कर्मचारीको मिलेमतोमा २४ करोड ८० लाख ९५ हजार भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका तत्कालीन महानिर्देशक सञ्जीवकुमार कर्ण, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका उपसचिव गणेशप्रसाद चालिसे र आपूर्तिकर्तासमेत गरी १३ जनाविरुद्ध ५ असार ०७६ मा मुद्दा दायर गरेको थियो ।

तर, विशेषको फैसलापछि सबै आरोपितहरूले सफाइ पाएका थिए । आरोपितउपर अख्तियारले लगाएको कसुर पुष्टि हुन नसकेको भन्दै विशेषले सफाइको फैसला गरेको थियो । अहिले अख्तियार विशेषको फैसलामाथि सर्वोच्चमा पुनरावेदनमा गएको छ ।

Comments

Popular posts from this blog