‘अखाद्य चामल भन्सार पास हुँदैन’
विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले नेपालको पश्चिमी क्षेत्रमा अनुदानस्वरुप वितरण गर्न ल्याएको चामल अखाद्य फेला परेपछि नेपालगन्ज भन्सारले भन्सार पास नगर्ने भएको छ ।
विश्व खाद्यले इटालीबाट ल्याएको ५४ हजार किलो चामल नेपालगन्जमा परीक्षण गर्दा कुहिएको फेला परेको थियो । भन्सार कार्यालयले परीक्षणमा अखाद्य फेला परेकाले विश्व खाद्यको चामललाई भन्सार पास अर्थात् क्लियरेन्सको अनुमति नदिने जानकारी दिएको छ । चामल करिब एक महिनादेखि भन्सार परिसरमा थन्किएको छ ।
नेपालगन्ज भन्सारका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले डब्लूएफपीले ल्याएको ५४ हजार किलो चामल कुहिएको देखिएकाले भन्सार पास नहुने बताए । उनका अनुसार भन्सार ऐन तथा विनियमअनुसार कुनै पनि खाद्य वस्तु खान अयोग्य पाइए सरोकारवालाको रोहवरमा नष्ट गर्न सक्ने तथा आयातकर्ताले फिर्ता गर्न सक्ने कानुनी व्यवस्था छ । “अखाद्य चामललाई नेपाल भित्र्याउने अनुमति हामीले दिन मिल्दैन । अब चामल के गर्ने डब्लूएफपीकै जिम्मेवारीमा आएको छ,” उनले स्पष्ट पारे । कानुनी व्यवस्थाअनुसार आयातकर्ताले नष्ट वा फिर्ता जे पनि गर्न सक्ने तर कुनै पनि हालतमा भन्सारबाट क्लियरेन्स नहुने उनले बताए ।
गत माघ १५ मा आएको चामललाई भन्सारले १७ माघमा खान योग्य छ–छैन भनेर नमुना विश्लेषण तथा कन्साइन्मेन्ट निरीक्षणका लागि खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा पठाएको थियो । भन्सारले पठाएको चामलको नमुना गुणस्तर कार्यालयमा परीक्षण गरिँदा अस्वाभाविक गन्ध आएको र कुहिएको भेटिएपछि चामल ल्याउन उपयुक्त नदेखिएको भन्दै गुणस्तर प्रमाणीकरण कार्यालयले भन्सार कार्यालयलाई पत्र पठाएको थियो ।
डब्लूएफपीले यही चामललाई नेपाल भित्र्याउन चाहेको थियो । त्यसका लागि कसरत चलिरहेका बेला कारोबार दैनिकले यही फागुन ४ मा डब्लूएफपीले बाँड्न ल्याएको ५४ हजार किलो चामल अखाद्य भेटिएको समाचार बाहिर ल्याएको थियो । समाचार बाहिरिएपछि डब्लूएफपीलगायतका निकाय सबै निकाय पछि हटेका थिए ।
प्रवक्ता शर्माका अनुसार खाद्य ऐनअनुसार एक पटक परीक्षण गरिसकेको चामल खान अयोग्य भनेर रिपोर्ट आइसकेपछि पुनः परीक्षण गर्न नमिल्ने हुँदा अब उक्त चामल पुनः परीक्षण समेत गरिने छैन । नेपालका पश्चिमी क्षेत्रका विभिन्न जिल्लाका सर्वसाधारण, बालबालिकलगायतलाई वितरण गर्न डब्लूएफपीले इटालीबाट ल्याएको चामल नेपालगन्ज भन्सार नाकामार्फत ल्याउने प्रक्रियामा थियो ।
इटालीबाट समुन्द्र मार्ग हुँदै भारतीय बन्दरगाहसम्म ल्याइएको थियो । त्यहाँबाट नेपाल लिएर आएका डब्लूवी ०३ डीओ १०७, डब्लूवी ११ सी ५९६० र एनएल ०१ एडी ७१०५ नम्बरका तीन वटा भारतीय कन्टेनर माघ १५ मा जमुनाह नाकाबाट नेपाल आएका थिए । ती कन्टेनर अहिलेसम्मै भन्सार नाकामा छन् ।
यसअघि पनि डब्लूएफपीले अनुदानमा नेपालका लागि दिने चामलमा पटक पटक समस्या आएका छन् । करिब डेढ दशकअघि जाजरकोटमा वितरण गरिएको चामल कुहिएको फेला परेपछि सर्वसाधारणले फ्याँकेर विरोध जनाएका थिए । त्यसबेला केही अधिकारवादी संघसंस्थाले पनि यसको विरोध जनाएका थिए । घटना सार्वजनिक भए पनि ढाकछोप गर्ने प्रयास हुँदै आएको छ ।
भन्सारका एक कर्मचारीका अनुसार अनुदानका लागि ल्याएको चामलको नमुना परीक्षणका लागि गुणस्तर प्रमाणीकरण कार्यालयमा पठाउँदा समेत डब्लूएफपीका कर्मचारीले गुणस्तर परीक्षण गर्न आवश्यक नभएको भन्दै विवाद गरेका थिए ।
स्रोतका अनुसार विश्व खाद्यका नेपालस्थित केही अधिकारी बिनारोकटोक चामल ल्याउन पाउनुपर्ने भन्दै उच्च सरकारी निकायहरुमा दबाब दिइरहेका छन् । नेपालले गरेको गुणस्तर परीक्षणमा पनि उनीहरु बेखुसी देखिएका छन् । भन्सार र अर्थ मन्त्रालयमा उनीहरुले दबाब दिइरहेको स्रोतको दाबी छ । त्यही कारण चामललाई एक महिना हुँदा पनि फिर्ता पठाइएको छैन ।
भन्सार कार्यालयका सूचना अधिकारी शर्माले कुनै पनि खाद्यवस्तुको गुणस्तर परीक्षणबिना यतिकै नेपाल भित्रिन नदिइने बताए । डब्लूएफपीले कुहिएको चामल भन्सारबाट भित्र्याउन कुनै दबाब भने नदिएको शर्माको दाबी छ ।
डब्लूएफपी संयुक्त राष्ट्रसंघको खाद्य सहायता शाखा हो । यो भोकमरीविरूद्ध सम्बोधन गर्ने संसारकै सबैभन्दा ठूलो मानवीय संगठन हो । यसले खाद्य सुरक्षालाई महत्व दिन्छ । यसको मुख्यालय इटालीको रोममा छ । ८० भन्दा बढी देशमा यसका कार्यालय रहेका छन् ।
विषादी अवषेश बढी भएपछि काउली नष्ट
यसैबीच नेपालगन्जमा विषादीको अवशेष मापदण्डभन्दा धेरै पाएपछि ५० किलो काउली आइतबार नष्ट गरिएको छ । प्रयोगशालाले परीक्षणका क्रममा बाँके जिल्लाको पुरौनाबाट ल्याएको काउलीमा अत्यधिक अर्गानोफस्फेट विषादीको अवशेष फेला पारेको थियो ।
त्यसपछि काउली नष्ट गरेको केन्द्रीय कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत राजीव राजभण्डारीले जानकारी दिए । सरकारको मापदण्डअनुसार ३५ देखि ४५ प्रतिशत विषादी देखिए केही दिनलाई राखेर व्यापारीलाई फिर्ता दिइन्छ । ४५ प्रतिशतभन्दा माथि विषादी छ भने तत्काल नष्ट गरिन्छ । यो काउलीमा मापदण्डभन्दा माथि विषादीको मात्र देखिएकाले नष्ट गरिएको हो ।
Comments
Post a Comment