अन्योलका बीच बजेट निर्णयार्थ टेबुल हुँदै
सत्ता गठबन्धनमा रहेका केही दलहरुले आगामी वर्षको बजेट हुबहु पास नगर्ने बताइरहेका बेला सरकारले बुधबार प्रतिनिधिसभामा निर्णयार्थ बजेट टेबुल गर्ने कार्यतालिका राखेको छ ।
संसद्को बुधबारको कार्यसूचीमा आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयक (बजेट) निर्णयार्थ प्रतिनिधिसभाको बैठकमा टेबुल गर्ने तालिका राखिएको हो । अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५ मा सार्वजनिक गरेको बजेटमाथि संसद्मा छलफल सुरु भएपछि यसमा विवाद आइरहेको छ । सरकारको अंकगणितमा ठूलै हिस्सा राखेका नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीकाका नेताहरुले आगामी बजेट न्यायोचित र सन्तुलित नभएको आरोप लगाउँदै संशोधनबिना पास नगर्ने बताउँदै आएका छन् ।
बजेटलाई लिएर सत्ता गठबन्धनका दलहरुबीच अन्योल छाएका बेला सरकारले निर्णयार्थ टेबुल गर्ने तालिका राखेको हो । यसले झनै अन्योल बढाएको छ । बजेट पास हुन नसके प्रधानमन्त्री पुष्पकमल दाहाल सरकार ढल्न सक्छ । कानुनमा स्पष्ट रुपमा बजेट पास नभए सरकार ढल्ने भनी उल्लेख छैन । तर, सरकारले ल्याएको बजेट पास नभए उसले संसद्मा विश्वास गुमाएको अर्थ लाग्नेछ । यही कारण अन्योलको वातावरण बनेको हो ।
सत्ता गठबन्धनका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को बुधबार छुट्टाछुट्टै बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्विप जारी गरेको छ । बैठकमा प्रत्येक सांसदलाई निर्देशन दिँदै बुधबारको प्रतिनिधिसभामा अनिवार्य उपस्थित हुन र बजेटका पक्षमा मतदान गर्न निर्देशन दिइएको हो ।
माओवादी केन्द्रका तर्फबाट बजेटको पक्षमा मतदान गर्न संसदीय दलका नेता तथा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट प्रमुख सचेतक हितराज पाण्डेले निर्देशन दिएका हुन् । उनले प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुँदा अनिवार्य उपस्थित हुन निर्देशन दिएका हुन् ।
यस्तै, नेपाली कांग्रेसको तर्फबाट संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस सांसदलाई बजेटका पक्षमा मतदान गर्न ह्विप लगाएका छन् । संसदीय दलका अधिकृत विजयेन्द्र वीर आलेले निकालेको सूचनामा बुधबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसदलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिइएको छ । बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र विनियोजन विधेयकको पक्षमा मतदान गर्न ह्विप जारी भएको सूचनामा उल्लेख छ ।
एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट संशोधन नगरी पास हुन नदिइने बताएका छन् । पाण्डेले मंगलबार कारोबारसँग कुरा गर्दै भने, “बजेट सन्तुलित नभएको हुँदा संशोधन हुनैपर्छ । नत्र पास गरिँदैन ।”
अर्थमन्त्री महतले बजेट संशोधन नगरी पास हुने दाबी गरे पनि संशोधनबिना आफूहरुले बजेट पास हुन नदिने उनको भनाइ छ । उनले भने, “बजेट संशोधन नगरी पास गर्ने हो भने किन छलफल गरेको ? हाम्रो बजेट निर्माण प्रणाली नै गलत छ । अब बजेट निर्माण गर्ने प्रणाली परिर्वतन गर्नुपर्छ । बजेट निर्माण गर्दा निर्वाचित सांसदहरुलाई समेत सहभागी गराउनुपर्छ । यो बजेट असन्तुलित छ । संशोधन गरेर सन्तुलित बनाउनु पर्नेछ ।”
यस्तै, जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले बजेट संशोधन हुनुपर्ने वा यत्तिकै पास हुनुपर्नेमा पार्टीमा आन्तरिक छलफल भइरहेको जानकारी दिए । उनले भने, “अहिलेसम्ममा हाम्रो पार्टीको भनाइ बजेट संशोधन नभई पास नगर्ने पक्षमा छ । बुधबार बिहान यसबारेमा फेरि पार्टीको छलफल छ । त्यो छलफलपछि बजेट पास गर्ने पक्षमा मतदान गर्ने वा संशोधन गर्नुपर्ने भन्ने पक्षमा मतदान गर्ने पार्टीले निर्णय गर्नेछ ।”
गत बिहीबार जसपा अध्यक्ष उपेन्द्र यादवले बजेट यथास्थितिमा पारित नहुने बताएका थिए । उनले गठबन्धनका दलसँग छलफल नगरी ल्याएको बजेट नसच्याए संसद्बाट पास नहुने दाबी गरेका थिए । “अहिलेको बजेट एकलौटी ढंगले गठबन्धनमा रहेका दलहरुसँग छलफल नै नगरी ल्याइएको छ,” उनले पत्रकार सम्मेलनमा भनेका थिए, “बजेटले पूरै मधेसलगायत धेरै क्षेत्रलाई उपेक्षा गरेको छ । त्यसकारण यसलाई सच्याउने र सुधार गर्नुपर्छ भनेर हामीले भनेका छौं । नसच्याई बजेट पास हुन कठिन छ ।” आफ्नो पार्टी बजेटमा न्यायोचित वितरण भएन भन्ने पक्षमा रहेको उनले बताएका थिए ।
यस्तै, एकीकृत समाजवादीको बिहीबारकोे संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदले यथास्थितिमा बजेट पारित गर्न खोजे विपक्षमा मतदान गर्नुपर्ने धारणा राखेका थिए । उनीहरुले बजेट असन्तुलित भएको भन्दै यथास्थितिमा पारित गर्न नहुने धारणा राखेका हुन् ।
बैठकले बजेट सच्याउने विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग कुरा गर्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको थियो । यसअघि पनि अध्यक्ष नेपालले प्रधानमन्त्री दाहालसँग बजेटका बारेमा असन्तुष्टि जनाइसकेका छन् । अर्थमन्त्री महतले सोमबार पत्रकारहरुसँग कुरा गर्दै बजेट संशोधन नगरेर नै पास हुने दाबी गरेका थिए । कुनै पनि संशोधनबिना बजेट पास हुने भन्दै उनले बजेट ल्याउँदा नै सीमित श्रोतसाधनलाई मध्यनजर गरी वास्तविकता आएको दाबी गरेका थिए ।
बजेटमा समानता भएन भन्ने सांसदहरुको भनाइ आफूले मागेअनुसारको बजेट नआएपछिको मात्रै रहेको उनको भनाइ थियो । सत्तादारी ठूला दलहरुले बजेट संशोधन नगरी पास हुने भन्दै गर्दा सत्तामा रहेका नेकपा एस र जसपाले बजेट संशोधन नगरी पास हुन नदिइने प्रतिक्रिया दिँदै आएका छन् ।
सत्ता गठबन्धनका दलहरुबीच बजेटलाई लिएर भएको यो विवाद र परिमार्जन गर्न नसकिने अभ्यासका बीच बजेट पास हुने–नहुनेमा अन्योल देखिएको छ
Comments
Post a Comment