४० लाखको बास्मती चामल कुहाउने कर्मचारीलाई अख्तियारको उन्मुक्ति
कुहिएको चामल ‘रि पोलिसिङ’ गरी उपभोक्तालाई विक्री वितरण गर्ने कम्पनीको तयारी
कौशिला कुँवर, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित चामल गोदाममा ४ सय ८७ क्विन्टल २२ किलो चामल कुवाउने कर्मचारीलाई कुनै कारवाही उन्मुक्ती दिएको छ । बास्मती जस्तो मूल्यवान चामल विक्री वितरण नगरी गोदाममै थन्क्यार चामल कुहाउने कर्मचारीलाई कारवाही नगरी उन्मुक्ती दिएको हो ।
कम्पनीका कर्मचारीको चरम लापरवाहीका कारण कम्पनीको गोदाममा रहेको ४० लाख ४३ हजार ९२६ रुपैयाँ मुल्य बराबरको बास्मती चामल कुहिएको छ ।
सरकारी कर्मचारीले राज्यको सम्पत्तीमाथि खेलबाड गर्दा कुनै कारवाही नगरी उन्मुती दिनु दुभाग्य भएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउछन् । कारवाहीका लागि प्रयाप्त प्रमाण हुँदा हुँदै दोषीलाई उन्मुक्ति दिने प्रबृत्तिले अख्यिातर दुरुपयोग अनुसन्धान आयोगको कार्य शैली माथि नै प्रश्न चिन्त उठेको महर्जनको भनाई छ । अख्तियारको कार्यशैली प्रति आमजनमान प्रश्न उठेको अध्यक्ष महर्जनको भनाइ छ । अख्तियारले अनुसन्धान गरेर निष्कर्ष नै ननिकाली फाइल बन्द गरेको महर्जनले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ मंसिर २०७६ मा राजधानी दैनिकमा ‘खाद्यका कर्मचारीको चरम लापरबाहीका कारण गोदाममै कुहियो लाखौं मूल्यको चामल’ शीर्षकमा प्रकाशित समाचारलाई लिएर अख्तियारले कारवाहीका लागि छानबिन सुरु गरेको थियो । अख्यितारले उक्त विषयमा छानविन गर्न थालेको एक वर्ष भन्दा बढी समयपछि छानबीन कार्यलाई तामेलिमा राखी दोषी कर्मचारीलाई उन्मुती दिएको छ । लापरवाही गरी गोदाममै ४ सय ८७ क्विन्टल २२ किलो बास्मती चामल कुहाउने कर्मचारीलाई कारवाही गर्ने आधार हुँदा हुँदै पनि अख्तियारले उन्मुक्ती दिएको छ । अख्तियारले २०७७ माघ ९ गते छानविन कार्यलाई तामेलिमा राखेको जानकारी गराएको छ ।
लामो अनुसन्धानपछि लापरबाही गरेर गोदाममा चामल कुवाउने कर्मचारी विरुद्ध अदालतमा मुद्दा दायरको तयारी गरीरहेको बेलामा कम्पनीका कर्मचारी र अनुसन्धानमा सहभागि अख्तियारका कर्मचारीहरुको मिलेमतोमा कुनै पनि कारवाही विना लापरवाही गर्ने कर्मचारीलाई उन्मुती दिएको हो । स्रोतका अनुसार अख्तियारले गादोममा लाखौँको चामल कुहाउने कर्मचारीलाई उन्मुक्ती दिन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चामलको गुणस्तर परिक्षण गरी खान अयोग्य भएको प्रमाणित गरी सकेको चामललाई पुनः खाद्य कम्पनीलाई फेरी केही प्यारामीटर परिक्षण गरी ल्याउन भनेको छ, । सो गोदामको चामल खान योग्य नभएरको भन्दै २०७६ १ पुसमै खाद्य प्रविधि विभाग, जिल्ला प्रशासन र खाद्य कम्पनी स्वयंको रोहवरमा ४ सय ८७ क्विन्टल २२ केजी बास्मती चामल गोदामामै कुहिएको पुष्टि भएपछि ‘नष्ट गर्नुपर्ने’ भनेर मुचुल्का समेत गरि सकेको छ ।
सो चामल नष्ट गर्नु बाहेक विल्कप नरहेको अवस्थामा अख्तियारले कम्पनीका कर्मचारीलाई कारवाही हुनबाट बचाउन विभिन्न खेलखेलीरहेको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार गोदाममा कुहिएको चामल नष्ट गर्दा कर्मचारीले सो चामलको क्षतिपुर्ति तिर्नु नपर्ने हुँदा कम्पनीका कर्मचारी र अख्तियारका अनुसन्धान खटिएका कर्मचारीको मिलेमतोमा सो मुद्दालाई ढाकछोप गरेका हुन् । यदि गोदामको चामल पुरै नष्ट गर्नु पर्दा लापरवाही गर्ने कर्मचारीले कम्पनीको गोदाममा कुहिएको चामलको ४० लाख ४३ हजार ९२६ रुपैयाँ क्षतिपुर्ति तिर्नु पर्ने छ । सो क्षतिपूर्ति तिर्नबाट बच्न अनुसन्धान गर्ने अख्तियारका कर्मचारीसँग मिलेर लापरवाही गर्ने कर्मचारीले ढाकछोप लगाएको स्रोतको दावी छ ।
अख्तियारका एक अधिकारका अनुसार छानविनलाई तामेलिमा राख्ने भनेको मुद्दा बन्द नै गरेको नभएको बताए । गोदाममा राखेको चालमले अन्य चालमलाई समस्या आउन नदिइन कानुनी रुपमा व्यवस्थापन गर्न निर्देशन दिएको जानकारी दिए । ति अधिकारीले भने,‘चामलको दुईवटा गुणस्तर जाँच पर्ने प्यारामिटर नेपालमा नहुँदा भारतमा चेक जाँचलाई कम्पनीले पठाएको छ ।’ सो रिपोर्ट अख्तियारलाई पेस गर्ने समेत कम्पनीलाई निर्देशन उनले जानकारी दिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुगमन महाशाखा निर्देशक किशोर खत्रीले सिलबन्दी गरेको गोदामबाट चामल लिएर एक्लै खाद्य कम्पनीले आफै चामलको नमुना परिक्षण गर्न नमिल्ने बताए । उनले भने, ‘गादोममा कुहिएको चामलको १० वटा नमुना चेकजाँच गरेर खान योग्य नभएको प्रमाणित गरी विभागले अख्तियारलाई १० पुस २०७६ मै रिपोर्ट बुझाइ सकेको थियो । १० वटा नमुना फेल भइसकेको चामललाई फेरी पनि गुणस्तर चेकजाँच गर्नुको कुनै औचित्य छैन । यदि अख्यितारले अदालतमा पेश गर्न चामलको गुणस्तर चेक गर्न लागेको हो भनेपनि कम्पनी एक्लैको सहभागीमा लिएको नमुना चेकजाँचको अर्थ नभएको अनुगमन शाखा निर्देशक खत्रिको भनाइ छ ।
कम्पनीका अनुसार आव २०७२/७३ जनकपुर मिलबाट ल्याइएको करिब ५ हजार क्वीन्टल चामलमध्ये ४८७ क्वीन्टल २२ किलो बास्मती चामल कुहिएको छ । कम्पनीको धान किन्दा र कुटाउँदासम्मको लागत खर्च प्रतिकिलो ६८ रुपैयाँ मात्र परेको थियो । सो चामल काठमाडौं आइपुग्दा प्रतिकिलो तीन रुपैयाँले ढुवानी भाडा जोड्दा ७१ रुपैयाँ प्रतिकिलो पर्न जान्छ । कम्पनीले निजी व्यापारीजस्तै उपभोक्ताबाट बढी नाफा असुल्नका लागि चामलको प्रतिकिलो १३० रुपैयाँ मूल्य निर्धारण गरेको स्रोतको दाबी छ ।
यदि, कम्पनीले थोरै मुनाफा राखेर बिक्री गरेको भए यति ठूलो परिमाणको चामल गोदाममै कुहिने अवस्था नआउने स्रोतको भनाइ छ । कम्पनीले २०७२/७३ मा बिक्री गरेको प्रतिकिलो १३० रुपैयाँका दरले हिसाब गर्ने हो भने हाल थापाथली गोदाममा ६३ लाख ३३ हजार ८६० मूल्यको चामल कुहिएको स्रोतको भनाइ छ ।
थापाथलीस्थित गोदाम नम्बर २४ मा ३२३ दशमलव १७ क्वीन्टल र ३० नम्बर गोदाममा १६४ दशमलव शून्य ५ क्वीन्टल बास्मती चामल कुहिएको पाइएको छ । कम्पनीले सो बास्मती चामल प्रतिकिलो ८३ रुपैयाँका दरले बिक्री गर्दै आएको छ । प्रतिकिलो ८३ रुपैयाँका दरले हिसाब गर्दा ४० लाख ४३ हजार ९२६ रुपैयाँको चामल गोदामै कुहिएको अवस्थामा छ ।
Comments
Post a Comment