संकटमै कालो बजारी, सामाजिक उत्तरदायित्व खै ?
काठमाडौँ । एकवर्ष यता कोरोना महामारीले विश्वमा डरलाग्दो संख्यामा मानविय क्षति भएको छ । कोरोना महामारीकै कारण उद्योग कलकारखाना राम्रोसँग सञ्चालन हुन नसक्दा लाखौंको रोजीरोटी नै गुम्यो ।
पहिलो चरणको संक्रमणले थिल्थिलो भएको अर्थतन्त्र उक्सन नपाउदै कोरोना महामारीको दोस्रो लहर तीब्रगतिमा फैलिएपछि सरकारले रोकथाम तथा नियन्त्रणका लागि गत १६ गते देखि काठमाडौँ लगायत विभिन्न जिल्लामा निषेधाज्ञा गरेको छ । निषेधाज्ञापछि व्यापार व्यवसाय बन्द हुँदा ज्याला मजदुरी गरेर दैनिक गुजार गर्नेहरुलाई झै समस्या परेको छ । आय स्रोत नहुँदा ज्याला मजदुरी गरेर गुजारा गर्नेहरुलाई रोग र भोक दुवैले गर्दा ज्यान बचाउन हम्मेहम्मे परेको छ । यस्तो संकटको बेलामा अत्यावश्यक स्वास्थ्य सामाग्री, स्वास्थ्य सेवा र दैनिक उपभोग्य खाद्य वस्तुमा व्यापारीहरुले समाजिक उत्तरदायित्व ख्यालै नगरी कालोबजारी गरेर आम उपभोक्ता सर्वसाधारणलाई झै संकटमा परेका छन् । बजारमा पर्याप्त सामान हुँदा हुँदै पनि व्यवसायीहरुले उपभोक्तालाई बजारमा सामान अभाव भएको देखाउँदै बढी मुल्य लिएर ठग्ने काम गरेका छन् ।
‘संकटमा कालोबजारी बढ्नुको मुख्य कारण मान्छेहरुले आवश्यकता भन्दा बढी सामान खरिद गरेर घरमा थुपार्ने पनि कारण हो ।’
निषेधाज्ञापछि मात्र व्यापारीले हरेक दैनिक उपभोग्य खाद्य वस्तुमा १५ देखि २० प्रतिशत मुल्य बृद्धि गरेर उपभोक्ताबाट पैसा असुल्ने काम भएका छन् भने स्वास्थ्य सामग्रीमा दोब्बर तेब्बर बढी मुल्य लिने गरेका छन् । दैनिक उपभोग्य वस्तु चिनी, तेल, दाल गेडागुडी लगायतका खाद्य वस्तुमा मुल्य बढाएका छन् भने स्वास्थ्य सामग्रीमा सर्जिकल माक्स, अक्सिजन कोरोना बिरामीका लागि उपचार गर्ने औषधी लगायतका सामग्रीमा मनपरी मुल्य लिने गरेको पाइएको वाणिज्य आपुर्ति तथा उपभोक्त संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईले बताए ।
प्रवक्ता सेढाइले स्वास्थ्य सामग्रीमा कुनै पनि अत्यावश्यक वस्तुको अभाव रहेको बताए । दैनिक रुपमा खाद्य वस्तुको आपूर्ति सहज रुपमा भइरहेको उनको भनाइ छ । प्रवक्ता सेढाई भन्छन् ‘तीन महिनासम्म आयात निर्यात ठप्प भएपनि तीन महिनालाई पर्याप्त पुग्ने बजारमा मौज्दात सामग्री छ । योसँगै दैनिक रुपमा अत्याश्वयक खाद्य वस्तु तथा स्वास्थ्य सामग्री लगायतका अत्यावश्यक वस्तु दैनिक रुपमा आयात भइरहेका छन् ।’
कति सामग्री काठमाडौ भित्रिए
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांक अनुसार १७ गते देखि २४ गते सम्ममा चिनी काठमाडौँ उपत्यकामा १ सय ६७ ट्रक भित्रिएको छ । यसैगरी चामल २ सय ६७ ट्रक भित्रिएको छ । १ सय ७३ मैदा १ सय ५९, धान २१ गहुँ २१, घिउ र तेल २ सय १२, तरकारी ३ सय ६४ ट्रक भित्रिएको छ । यसैगरी औषधी ९३ ट्रक, अक्सिजन १३ ट्रक काठमाडौँमा भित्रिएका छन् ।
नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देविन्द्र श्रेष्ठले बजारमा खाद्य सामग्री पर्याप्त रहेको बताए । उनको भनाई अनुसार अहिले अभाव देखाएर कालोबजारी गर्नु पर्ने कुनै कारण छैन । ‘ढुवानी भाडाका कारण केही सामानमा २/४ प्रतिशत मुल्य बढेको छ । तर, धेरै उपभोक्तालाई असर पर्ने गरी खाद्य वस्तुमा मुल्य बढेको छैन ।’ अध्यक्ष श्रेष्ठले भने, ‘संकटमा कालोबजारी बढ्नुको मुख्य कारण मान्छेहरुले आवश्यकता भन्दा बढी सामान खरिद गरेर घरमा थुपार्ने पनि कारण हो ।’
मुलुकमा सानो घटना हुने बित्तिकै आम उपभोक्ता सामान किन्न पसलमा लाइन लाग्ने गर्नाले पनि बजारमा सामानको अभाव हुने र कालोबजारी बढेको अध्यक्ष श्रेष्ठको भनाई छ । संकटमा कालोबजारी हुन नदिन उपभोक्ता देखि व्यापारीहरुको सोचमा परिवर्तन आउनु पर्ने उनले बताए ।
नेता र व्यापारीको घनिष्ट सम्बन्धले पनि कालो बजारी बढाउछ
निषेधाज्ञापछि मात्र व्यापारीले हरेक दैनिक उपभोग्य खाद्य वस्तुमा १५ देखि २० प्रतिशत मुल्य बृद्धि गरेर उपभोक्ताबाट पैसा असुल्ने काम भएका छन् भने स्वास्थ्य सामग्रीमा दोब्बर तेब्बर बढी मुल्य लिने गरेका छन्
नेपाल राष्ट्रिय उपभोाक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन राज्य सञ्चालन गर्ने नेतृत्ववर्गहरु व्यापारी उद्योगीहरुको सम्बन्ध धेरै नजिकिएकै कारण देशमा संकट परेको समयमा कालोबजारी बढ्ने गरेको बताउछन् ।, ‘पञ्चयात कालमा अहिलेको जस्तो कालोबजारी भन्ने हुँदैन थियो । बहुदलीय व्यवस्था पछि बजारमा कालोबजारी सल्बलाउन थालेको हो ।’ महर्जनले भने । महर्जनका अनुसार पहिलेका शासकहरु आफ्नाे शासन सत्ता बचाउनको लागि पनि आमनानगरिकका लागि कल्याणकारी काम गर्थे । लोकतन्त्र आएपछि आफ्ना कार्यकर्तालाई कसरी पाल्ने भन्नेमा केन्द्रित हुन थाले । अहिलेका शासक आमनागरिकको कल्याणका लागि भन्दा व्यापारी व्यवसायीहरुको हितमा बढी केन्द्रित हुन थालेको महर्जनको भनाई छ । कालोबजारी गर्नेहरु नै सत्तामा भएपछि तिनलाई कानुनको पनि डर नहुने उनको भनाई छ ।
उद्योग वाणिज्य महासंघका निर्वातमान अध्यक्षका भवनी राणाले यो कोरोना महामारी समयमा कालोबजारी भन्दा पनि समाजिक उत्तरदायित्व निर्वाह गर्ने बताइन् । निवर्तमान अध्यक्ष राणा भन्छिन् ‘संकटको समयमा कालोबजारी गर्ने जो कोही व्यापारी उद्योगीहरुलाई हामीले कहिल्यै पनि प्रोत्साहित गर्दैनौं । संकटमा कालोबजारी गर्नलाई कानुनी कारबाही गर्न हुनुपर्छ, ।’
अहिलेको अवस्था भनेको व्यापारमा नाफा खोज्ने समय नभएको उनको भनाई छ ‘यस्तो अवस्थामा नाफा खोज्ने हैन टिकाउने विषयमा ध्यान दिनुपर्छ ।’ राणाले भनिन् ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कम्लेस अग्रवालका अनुसार छोटो समय धेरै पैसा कमाउने लोभ भएकाहरुले संकटमा कालोबजारी गर्छन । यस्तो अवस्थामा कालोबजारी गर्नेलाई निरुत्साहित गर्नुपर्ने उनको भनाई छ । अग्रवालको भनाई अनुसार व्यापार भनेको पैसा कमाउनु मात्र होइन । व्यवसायीमा सामाजिक उत्तरदायित्व पनि हुनुपर्छ । यस्तो अवस्थामा घाटा सहेर पनि सरकारलाई सहयोग गर्नुपर्ने बताउछन् ।
उनी भन्छन् ‘संकटको अवस्थामा कालोबजारी गर्नेलाई हामीले आ–आफ्नाे क्षेत्रबाट निरुत्साहीत गर्नुपर्छ । कालोबजारी गर्ने आफ्नै दाजुभाइ भएपनि कानुनी कारबाहीको दायरामा ल्याउनु पर्छ ।’
घरेलु तथा साना उद्योग व्यवसायी महासंघको उपाध्यक्ष उमेश प्रसाद सिंह संकटका समयमा सरकारलाई उद्योगी व्यवसायीहरुले सहयोग गर्नुपर्ने धारणा राख्छन् । ‘मुलुकलाई संकट परेको बेला सरकारलाई सघाउनु हाम्रो पनि उत्तरदायित्व हो ।’ सिंहले भने ‘मैले आफैंले अक्सिजन किन्दा तीन गुण बढी मुल्य तिरेको छु ।’ यसो भन्दैमा आम उद्योगी व्यवसायीलाई एउटै कोटामा राखेर टिप्पणी गर्न नहुने बताए ।
सिंहका अनुसार जरिमाना मात्र ठुलो कुरा होइन व्यापारीलाई सहि ठाउँमा ल्याउनलाई सहि कानुन ल्याउनुपर्छ । नेपालमा कालोबजारी नियन्त्रण सम्बन्धि कानुन आवश्यकता भएको उनले बताए ।
Comments
Post a Comment